2080-02-32
2080-02-32
श्री जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी तातो दिन तथा लु सम्बन्धी विशेष बुलेटिन
हालको अवस्थाː
विगत केही दिन देखि देशका अधिकांश भू-भागहरू: विशेष गरि मध्य तथा पश्चिमी भू-भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ। काठमाण्डौ उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा पनि तापक्रममा वृद्धि भएको देखिन्छ । देशका मध्य तथा पश्चिम तराईका भू-भागमा लगातार अधिकतम तापक्रम चालीस डिग्री सेल्सियस (४०°से) वा सो भन्दा बढी मापन भएको छ ।
चेतावनी तथा परामर्शː
आगामी केही दिनसम्मको लागि देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भू-भागहरूमा अत्याधिक गर्मीको सम्भावना अझै रहने देखिनुका साथै बागमती प्रदेशको तराईका भू-भाग र मधेश प्रदेशको पश्चिमी भू-भागमा थोरै तापक्रम घटे तापनि अत्याधिक गर्मीको सम्भावना यथावत् रहने देखिएको छ । तसर्थ, ती भू-भागहरूमा आगामी चार दिन (२०८० जेठ ३० गते देखि २०८० असार १ गते) सम्म तातो हावा तथा लू (Heat wave) को सम्भावना यथावत् रहने देखिएकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । मधेश प्रदेशको पूर्वी भू-भागमा तापक्रम केही धट्ने सम्भावना देखिए तापनि गर्मीको सम्भावना रहनुका साथै देशको पश्चिमी पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा पनि तापक्रम यथावत् रहन सक्ने सम्भावना रहेको हुनाले ती भू-भागहरूमा पनि गर्मीको सम्भावना रहेकाले सचेत रहनु होला। तापनि, कोशी प्रदेशमा बदली र वर्षाको सम्भावना रहेकोले तापक्रम धट्नुका साथै अत्याधिक गर्मीको नहुने देखिन्छ। त्यसैले, यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहनु हुन अनुरोध छ। साथै यस वर्ष मनसुनी वर्षाको आगमन पनि औसत मिति (जुन १३ तारिख) भन्दा एक-दुई दिन ढिला हुने सम्भावना रहेको देखिन्छ।
सम्भावित असर तथा सुझावहरूː
तातो हावा तथा लू बाट हुने सम्भावित असरहरू जस्तै ː थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध छ ।
सुझावहरूː
तातो हावा तथा लू बाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी Expose नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जूस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर .