District Introduction 2076-05-18
१. जिल्लाको पृष्ठभूमि
सेन वंशका प्रतापी राजा मणिमुकुन्द सेनले शासन गरेको हुनाले उनै राजाको नामबाट मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर शव्दको अपभ्रंस भई मकवानपुर रहन गएको वा नामाकरण गरिएको भन्ने जनश्रुती प्रचलित छ । मकवानपुर जिल्ला बागमती प्रदेशमा अवस्थित रहेको छ । उतरतर्फ करीब ६६ कि.मी. लामो महाभारत श्रृंखला र दक्षिणतर्फ ९२ कि.मी. लामो चुरे पर्वतको काखमा सानो उपत्यकाको झझल्को दिने खालको छ । यो जिल्लामा शिशिर याममा हिमपात हुने २५ सय ८४ मिटरको उच्च भू-भाग सिमभन्ज्याङ्ग र दक्षिणतर्फ समुद्री सतहदेखि १६६ मिटर उचाईको पूर्वी भागमा रहेको बागमती गाउँपालिकाको राईगाउँ, हात्तीढुङ्गाको भौगोलिक बनावटले यस जिल्लाको बिषम प्राकृतिक विविधताको झझल्को दिन्छ । यो जिल्ला मधेश प्रदेश र बागमती प्रदेश समेतका ९ जिल्लासँग सीमाना जोडिएको छ । २,४२६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएर रहेको यो जिल्ला पूर्व साँगुरो हुदै पश्चिमतर्फ बेलुन फुलेझैं फुकेको र नेपाल राज्यको कुल क्षेत्रफलको १.६ प्रतिशत भाग ओगटेको छ । नेपालको पहिलो राजपथ त्रिभुवन राजपथको निर्माणले राजधानीलाई देशको अन्य भू–भागसँग जोड्ने एक मात्र द्वारको रुपमा परिचित यस जिल्लालाई एक समय तराई र पहाड जोड्ने सेतुको रुपमा समेत लिने गरिन्थ्यो । प्रशासकीय दृष्टिकोणले यस जिल्लालाई २ निर्वाचन क्षेत्र, १ उपमहानगरपालिका, १ नगरपालिका र ८ गाउँपालिकामा विभाजन गरिएको छ । यस जिल्लाको सदरमुकाम हेटौंडा जसलाई औद्योगिक नगरीका रुपमा पनि चिनिन्छ । २०४३ सालमा हेटौंडालाई जिल्ला सदरमुकाम बनाईएको हो । नेपालको सबै भन्दा बढी तामाङ्ग जातिको बसोबास रहेको यस जिल्लामा ब्राह्मण, क्षेत्री, नेवार, मगर पिछडिएका चेपाङ्ग जाति लगायत अन्य जातिको पनि उल्लेखनीय बसोबास रहेको छ । लोपोन्मुख बनकरीया जातिको बासस्थान हाँडीखोला पनि यसै जिल्लामा पर्दछ ।
मकवानपुर जिल्लाको मानचित्र
२. मकवानपुर जिल्लाको संक्षिप्त चिनारी
- प्रदेश : बागमती प्रदेश
- जिल्ला : मकवानपुर
- निर्वाचन क्षेत्र : २
- उपमहानगरपालिका : १
- नगरपालिका : १
- गाउँपालिका : ८
सामाजिक आर्थिक स्थिति
- कुल जनसंख्या: ४,६६,०७३
- पुरुष : २,३३,८१६ (५०.२०%)
- महिला: २,३२,२५७ (४९.८०%)
- घरधुरी संख्या : १,०५,७९२
- जनसंख्या वृद्धिदर: ०.९९%
- ग्रामीण जनसंख्या: ४९.३७%
- शहरी जनसंख्या: ५०.६३%
- औषत आयु : वर्ष
- औषत साक्षरता: ७७.८२% (पुरुष ८४% र महिला ७१.६३%)
- वन क्षेत्र: %
- कृषि क्षेत्र : %
(२०७८ सालको जनगणना तथ्यांक अनुसार )
